गणतन्त्र घोषणा हुने अघिल्लो दिनदेखि नै काठमाडौको गल्ली गल्लीको वातावरण हर्ष र उल्लासले रन्किन थालिसकेको थियो । नागरिक समाजलगायत विभिन्न दलका गणतन्त्रप्रेमीहरुको उत्साहपूर्ण भेलासँगै गणतन्त्रको उत्सब शुरु भइसकेको थियो । ३ दिन सरकारी बिदा तोकिदा अझ सजिलो र स्वतन्त्र ढंगले गणतन्त्र दिवस मनाउने अवसर जुर्यो । कार्यक्रम बिथोल्ने सानातिना केही क्रियाकलापहरु नभएका हैनन् तैपनि कुनै असर परेन ।
गणतन्त्र घोषणा हुने दिन (जेठ १५ गते) विहानैदेखि र्याली, जुलुस निस्कन थाल्यो । गणतन्त्र जिन्दावादको नारा यत्रतत्र गुन्जिन थाल्यो । १० बजेतिर म पनि अन्तर्राष्ट्रय सम्मेलन केन्द्रतर्फ लागे । त्यहाँ वरपर निषेधित क्षेत्र तोकिएको भएपनि मान्छेहरुका हूल निकै थियो । सुरक्षाकर्मीहरु निकै खटिरहेका थिए भीड पन्छाउन र व्यवस्थित बनाउनमा । त्यहाँ पुग्दा केही साथीहरु आइसकेका थिए भने अरु आउने क्रममै थिए । पुग्नासाथ एउटा साथीले हौसिदै कपालमा रंग छर्कीदियो । अर्को साथीले गणतन्त्र नेपालको छोटकरी ग.ने. गालामा लेखिदियो । अनि अर्कोले निधारमा अविर लगाउँदै गणतन्त्रको बधाई दियो । अर्को एक जनाले बेलुन हातमा थमाइदियो । जसलाई सबै मिलेर एकैचाटी साढे ११ बजेतिर उठाइयो- गणतन्त्र जिन्दावादको सामुहिक नारा र गड्गडाहत तालीसँगै । खूब रमाइलो लाग्यो मलाई । यो भीडमा एकअर्कामा गणतन्त्र ल्याएको बधाइ र शुभकामनाको बर्षा नै भइरहेको थियो । त्यहाँको माहोल हेर्दा लाग्थ्यो, गणतन्त्र घोषणा भएपनि नभएपनि गणतन्त्र आइसकेको छ । र सबैजना खुशीयाली बाँड्दैछन् । तर भीडमा खगेन्द्र संग्रौला भन्दै थिए- 'यो गालामा लेखिएको ग.ने. अहिलेलाई ज्ञाने भनेको हो । अब केही दिनभित्र यसलाई गणतन्त्र नेपाल भन्न मिल्ने बनाउनुपर्छ ।'
गणतन्त्र लेखाउने मात्रै हैन आ-आफ्नै समूह बनाएर नाच गान गर्ने, रमाइलो गर्ने, अनुहार, हात, गाला तथा शरिरमा गणतन्त्र लेखाउनेहरुको ताँती लागीरह्यो दिनभरी नै । लेख्ने मान्छेहरु पनि उत्तिकै फूर्ति र उत्साहका साथ लेखी नै रहेका थिए । मेरो हातमा भएको क्यामेरले कैद गर्ने दृश्यको खोजीमा म यताउति गर्दै थिए । एकजना साथीसँगै । अफसोसको कुरा दिनभरी पर्खदा पनि गणतन्त्र घोषणा हुन सकेन । बैठक सर्दै जाँदाखेरी बेलुकोकी ६ बज्यो । त्यत्ति नै खेर हूलमूलका मान्छेहरु भाग्न थाले । हामीभन्दा केही पर अश्रु ग्यास फ्याकियो । फोटो कैद गर्न भनी क्यामेरा उठाए । ठ्याक्कै त्यही बेला ब्याट्री सकिएर चौपट । अनि त के गर्नु र । साथीसँग हत्त न पत्त भीड बाहिर निसक्ने तरखरमा लाग्यौ । बल्ल बल्ल भीडको बीचबाट छेउमा निस्कियौ । अनि आरामले सास फेरियो । एकछिन अझै बैठक पर्खने कि के गर्ने भन्ने दोधार भयो । भोक पनि लाग्यो अनि थकाइ पनि अन्त म कोठातिर हान्निए । घोषणा भइहाल्यो भने पुन भेट्ने वाचासाथ साथीसँग छुट्टिए म । घर जान साथ लाइभ न्युज हेर्दै बसे । अन्तत रातको ११ बजेर २० मिनेट जाँदा बल्ल गणतन्त्र घोषणा भयो । बेलुकीपख बम बिस्फोट भएको हुनाले राम्रोसँग उत्सव मनाउन नपाएको धेरैको गुनासो सुने भोलिपल्ट ।
साथमा केहि गणतन्त्रीक तस्वीरहरु:-
(गणतन्त्र घोषणा गर्नु भन्दा अघिल्लै दिन गणातन्त्रको स्वागतमा रमेको भीड)
(गणतन्त्रको आगमन र राजतन्त्रको बिदाईमा किरातीहरु आफ्नो सांस्कृतिक नृत्य साकेला नाच्दै)
(राष्ट्रिय गान लेखिएको कपडा ओढेको एक गणतन्त्र प्रेमी युवा)
(सम्मेलन केन्द्र बाहिर आफ्नो शरिरमा गणतन्त्र लेखाएर रमाएका युवा )
प्रस्तुती: कैलाश राई ,काठमाडौं
Friday, May 30, 2008
फूटपातमा गणतन्त्र आएको बेला........
प्रकाशक
Admin Dummali
Subscribe to:
Post Comments (Atom)
0 तपाईंको जिज्ञाश यहाँ: