(कैलाश राई) भोजपुर
हाल: काठमाडौं
घट्टेकुलोको घरै-घरको फेदबाट हिंड्डा हिंड्डै एउटा घुम्तिमा भेट हुन्छ गीतकार टीका चाम्लिङसँग। एउटा गित लेखिदिनुस् भन्ने बर्षादिन देखिको मेरो अनुरोध थियो उहाँसग। कुनैदिन भेट्ने र यसो गफगाफ गर्ने प्रस्ताब गर्छु, सहमतिमा भन्नुहुन्छ "हुन्छ"। सहमति अनुसार ३ दिनपछी भेट हुन्छ। उहाँको बारेमा छोटो परिचय दिउँ।
गीतकार तथा कबि टीका चाम्लिङ २०३० माघ ४ मा खोटाङको नुनथलामा जन्मनु भएको हो ।सर्बोउत्कृष्ट गीतकारको रुपमा रेडियो नेपालद्बारा २०६१ सालमा पुरष्कृत हुनुभएको चाम्लिङ कबिता लेखनमा पनि उत्तिकै कलम चलाउदै आउनुभएको छ। त्यस्को साथै बिभिन्न जातिय सामाजिक संघ संगठनहरुमा आबद्व हुनुहुन्छ। वहाँका सधैंभरि (२०५८) नामक गिती एल्बम्, दुईवटा गितिसंग्रह सपनाको रंग(२०६०) र समयको रंग (२०६४) नामक पुस्तक प्रकाशित छन। उहाँसंगको अनौपचारिक छोटो भलाकुसारीको दौरानमा फुत्काइएका वा फुत्किएका केही कुराहरु छन त्यसैलाई यहाँ प्रस्तुत गर्दैछु।
(बरिष्ठ गीतकार, कबि टीका चाम्लिङ)
नयाँ गीत वा कबिता भएमा सुन्ने अभिप्रायले सोध्छु- दाजु नयाँ केही छ? छोटो उत्तर-एउटा कबिता अनि एउटा गीत छ पहिला गीत सुन्ने चासो देखाउँछु। एउटा कागजको टुक्रो झोलाको बाहिरी बगालीबाट निकालेर निर्धक्कसँग गीत बाचन शुरु हुन्छ :
आदिम पुर्खा थलो ढोगी, भित्री मनले चुम्छु
आदिबासी चेली हुँ म ऋतुजस्तै घुम्छु
कहिले पुग्छु किराँती गाउँ, भुमे साकेवामा
कहिले पुग्छु हिमाली गाउँ, फालो लाफेवामा
सबको लागि चेतनाको, नयाँ तान म बुन्छु
आदिबासी चेली हुँ म, ऋतुजस्तै घुम्छु
कहिले पुग्छु तमुवानको, रोधि-सोरठिमा
कहिले पुग्छु थारुवानको होलिया माघिमा
सबको लागि एकताको, चोमोलुङमा छुन्छु
आदिबासी चेली हुँ म ऋतुजस्तै घुम्छु
मेरो मुखबाट फुत्त बोली उछिटिन्छ- गीत साह्रै मन पर्यो मलाई। "तिम्रै लागि लेखेको" भन्ने उत्तर पाउँदा म खुशी नहुने कुरै भएन। बर्ष दिनको पर्खाइमा पाएको गीत , त्यो पनि आदिबासीका बिबिध संस्कृति, प्रकृति र पहिचानका शब्दले उनिएको गीत । औधी खुशी भएँ। त्यसपछि कबिता सुन्ने पालो आयो। कबिता पछि गफगाफ। -गीत लेखनको यात्रा कहिले र कसरी शुरु भयो भन्ने जिज्ञासामा "मेरो गिती लेखन यात्रा करिब दुई दशकको समय अवधिमा गुज्रीरहेको छ। यस हिसाबले भन्नुपर्दा चालिसको दशकको मध्यतिरबाट पाईला हालेको हुँ। सानैदेखि साहित्य प्रति गहिरो रुची भएकोले नै गीत तथा कबिता लेखनमा चालिसको दशकदेखि सकृय छु" उहाँले भन्नुभयो।
गीत ,संगीतले समाजमा धेरै नै प्रभाव पर्छ। तर दीर्घकालीन वा सकारात्मक प्रभाव परिराखेको छ कि छैन भन्ने प्रमुख कुरा हो भन्ने गीतकार टीका चाम्लिङको दृष्टिकोणमा बर्तमान परिप्रेक्ष्यमा गीत संगीतको सकारात्मक पक्षको साथै नकरात्मक पक्षपनि उत्तिकै अगाडि आइरहेको छ। दर्शक तथा स्रोताहरुले पनि अब गीत संगितको सकारात्मक पक्ष लाई स्थापित गराउन निर्णायक भूमिका खेल्नुपर्ने बिचार पनि राख्न भ्याउनु भयो।
युवा बर्गको सन्दर्भमा: युवाहरु वास्तबमै समाजका हरपक्षका संबाहक हुन। त्यसमाथि समाज परिवर्तनका लागि त झन युवाहरुको निकै नै अहं भूमिका रहन्छ। तर समाज परिवर्तनका लागि सर्बप्रथम ब्यक्तिको सोंच परिवर्तन हुनु अनिबार्य छ। साथै सबैले सकारात्मक दृष्टिकोण राख्नुपर्ने कुरामा चाम्लिङको जोड थियो।
अहिलेको बर्तमान परिप्रेक्ष्यमा पहिचानको मुद्दापनि त्यत्तिकै अगाडि आइरहेकोले त्यस सम्बन्धी प्रश्न सोधे उहाँलाई- तपाईंको सृजनामा तपाईं आदिबासी जनजाती हुनुको पहिचान झल्किन्छ ? उहाँले धारा प्रबाह भन्नु भयो-पहिलो कुरा म जन्मसिद्व आदिबासी जनजाती हुँ भने मैले सिर्जना गरेका कुनैपनि कुरा मेरो पक्षमा वकालत गर्ने हुनुपर्छ भन्ने मेरो मान्याता हो। त्यसैले आजसम्म मैले लेखेका धरैजसो सृजनाहरु प्रत्यक्ष -अप्रत्क्ष्यरुपमा आदिबासी जनजाती सम्बन्धी नै केन्द्रीत छ भन्ने ठान्छु, रह्यो सवाल पहिचानको, समाजमा मेरो पहिचानको मुख्य कडी मेरा सृजनाहरु नै हुन । त्यसमा कुनै दुईमत छैन। तर मैले लेखेका गीत वा कबितालाई सुक्ष्मतम बिष्लेषण र प्रचारप्रसारको कमी हुँदा म स्वयं छायाँमा परिरहेको महशुस् पनि गरिरहेको छु।
-तपाईंका लागि तपाईंका ती सृजना (गीत वा कबिता) पहिचान मात्रै हुन त? भन्ने अर्को प्रश्न तेर्साए मैले। आफ्नो बारेमा, आफुलाई थाहा भएका, मनमा उनिएका, गुनिएका सबै भावनाहरुलाई छिटो र प्रभावकारी रुपले प्रवहित गर्न सकिने माध्यम हो साहित्य ।त्यसमा थुप्रै बिधाहरु छन। गीत वा कबिता बिधालाई मैले रोंजे। वास्तबमा यो मेरो पहिचानमा मात्रै सिमित छैन। यसको थुप्रै पक्षहरु छन। जसको बारेमा म जानकार हुन पनि सक्छु, नहुन पनि सक्छु । किनकी सिक्काको दुईपाटो भएजस्तै यसको प्रत्यक्ष र अप्रतक्ष्य दुई पक्ष छन भन्दै मुस्कुराउनु भो।
गीत लेखनप्रति युवाहरुको आकर्षणलाई उहाँ निकै नै सकारात्मक मान्नुहुन्छ, र भन्नुहुन्छ- गीत क्षेत्रमा नव प्रतिभा वा युवा सर्जकहरुको उपस्थिती अत्यन्तै सघन र स्पष्ट धारणा सहित आउने क्रम जारी छ। खास गरी युवा सर्जकहरु सचेत र अध्ययनशील अनि कटिबद्व भै पर्दापण भैरहेका छन र भैसकेका पनि छन यो गीत संगीत जगतको मात्रै नभएर समस्त नेपालीको साझा गौरब र उपलब्धी हो।
अन्तमा गाँसबासको कुरा त कोट्याउनै पर्यो। आखिर जहाँ गएपनि मनुवाको लागि पेटको सवाल त छँदैछ। कुरोको चुरो यसरी मार्नुभयो-समग्र नेपाली साहित्यको ब्याबसायिक बिकास बिस्तारै भैरहेको छ, तर पूर्ण रुपमा ब्याबसायिक बन्न भने केही समय पर्खनै पर्छ। यस क्षेत्रलाई ब्याबसायिक बनाउन हामी सबैले आ-आफ्नो क्षेत्रबाट प्रयत्नसील रहनुपर्छ। किनभने कुनै पनि क्षेत्रको पूर्ण बिकास र ब्याबसाय सफल हुनलाई निकै लामो समयको खाँचो पर्छ । जसको लागि हामी अहिले लगानी गर्दैछौ। अर्को कुरा यस क्षेत्रलाइ बिकशित र ब्याबसायिक बनाउन सरकारी निती र कार्यन्वयन अनिबार्य र अपरिहार्य छ।
यति बोलिसके पछि मुसुक्क मुस्काउँदै - अरु केही छ? भन्दै प्रति प्रश्न गर्नुभो। मैले भने अहिलेको पाली यत्ती नै ।
अन्तमा सरल र सहज स्वाभाबका ब्यक्तित्व टीका चाम्लिङ प्रति आभारी छु - कैलाश राई
Sunday, May 4, 2008
बरिष्ठ गीतकार, कबि टीका चाम्लिङ ज्युसँगको कुराकानी
प्रकाशक
Admin Dummali
Subscribe to:
Post Comments (Atom)
0 तपाईंको जिज्ञाश यहाँ: