Thursday, May 15, 2008

'किराँत राज्यको कुरा उठाउनेछु'


प्रस्तुतीःरेणुका राई
उनी संविधानसभामा जनजाति र किराँत प्रदेशको बारेमा स्पष्ट कानुन बनाउन आफ्नो धारणा पेस गर्ने विचारमा छन्कुनैबेला यी भोजपुरमा शिक्षकका रूपमा चिनिन्थे । भोजपुर सदरमुकामनजिकैको वैकुण्ठे गाविसमा यिनको घर छ । यसैले यिनको जीवनका प्रारम्भिक सक्रियता यहीँबाट सुरु भयो । भोजपुर सदरमुकाममा पढ्ने क्रममा नै यिनको राजनीतिक जीवन सुरु भयो । स्कुलमा यी अनेरास्ववियुको संगठनमा आबद्ध थिए । विद्यार्थीकालबाट सुरु भएको राजनीतिको सिँढी चढ्दै अहिले कुमार राई ऐतिहासिक संविधानसभामा सभासद् चुनिएका छन् ।अनेरास्ववियुबाट राजनीति गरे पनि सभासद् बन्ने मौका भने यिनलाई कांग्रेसले जुराइदियो । साठी पारका यिनलाई कांग्रेसले समानुपातिकको जनजाति कोटामा छनोट गर्‍यो । शिक्षक रहँदा बनाएको राजनीतिको जग प्रगतिशील थियो । तर, पूर्णकालिक राजनीतिक कार्यकर्ता बन्ने समयमा यी कांग्रेसतिर ढल्किए । र,पार्टीको जिल्ला कार्यसमितिको सभापतिसम्म बने ।
२०२६ सालमा अनेरास्ववियु सरस्वती क्याम्पस काठमाडौंका सभापति भई वामपन्थी धारमा लागेका उनी ०३८ सालबाट कम्युनिस्ट राजनीतिबाट अलग भए । ३२ सालमा बिए, बिएड पास गरेका राई माओसेत्तुङबाट प्रभावित भएर राजनीतिमा आएको बताउँछन् ।वैकुण्ठे गाविसमा जन्मिए पनि अहिले उनको स्थायी बसोबास भोजपुरकै डाँडा गाउँमा छ । राष्ट्रको गरिमामय सभासद्मा निर्वाचित भइसक्दा पनि उनी इँटाले बारेको सानो घरमा बस्छन् । 'जनताका मान्छेले जनतासँगै बस्नुपर्छ, जनता जसरी नै बस्नुपर्छ,' उनले भने । आफ्नो पार्टी नेपाली कांगे्रसलाई कमाउने र धनी बन्ने पुँजीवादी पार्टीका रूपमा चित्रित गरिएकोमा खुसी छैनन् । उनको प्रश्न छ- 'नेपाली कांग्रेसलाई पुँजीपतिको कित्तामा राख्ने सर्वहाराको नेतृत्वको दाबी गर्ने पार्टीका बिल्डिङ कति तले छन् ? तिनका नेताका भवन कत्रा छन् ? को सर्वाहारा र को पुँजीपति जनताले छुट्टयाउनुपर्छ ।'

०४२ सालमा शिक्षकबाट राजीनामा दिँदा उनी एमालेको जिल्ला कमिटी सदस्य थिए । तर, पञ्चायतविरोधी आन्दोलन एमालेले भन्दा कांग्रेसले बढी प्रभावकारी ढंगले चलाएको देखेर उनी आन्दोलनमा होमिन कांग्रेसमा प्रवेश गरे । त्यसयता देशमा दुईवटा प्रजातान्त्रिक आन्दोलन भए । कुमार यी दुवै आन्दोलनमा सक्रियताका साथ सहभागी भए । 'पार्टीले अहिले मेरो मूल्यांकन गर्‍यो,' उनी भन्छन् । कांग्रेस सभासद् भए पनि कम्युनिस्ट पृष्ठभूमि भएका कारण उनी साम्यवादका जानिफकार छन् । अझै पनि उनलाई समाज अध्ययनको श्रेष्ठ विधि माक्र्सवाद नै हो भन्ने लाग्छ । तर, दुनियाँभरबाट माक्र्सवाद असफल हुँदै गएको देख्दा उनी चकित छन् । 'रसिया मात्र होइन, चीनमा पनि माक्र्सवादी अर्थतन्त्र असफल भयो, अहिले पुँजीवादी बजार व्यवस्थामा गएपछि मात्र चीनले प्रगति गर्न सक्यो,' उनी भन्छन् । उनका अनुसार चिनियाँ अर्थनीतिको अध्ययन गर्दा यो असफल भएको देखेर उनमा निराशा छायो र उनी कांग्रेसमा प्रवेश गरे ।


तीन छोरा र एक छोरीका बुबा सभासद् यतिबेला आफ्नी पत्नीका साथ जिल्लामा नै छन् । निर्वाचन सकिइसकेको छ । संविधानसभाको पहिलो बैठक बस्ने दिन तोकिइसकेको छ । यसैले उनी अब काठमाडौं जाने तयारी पनि गर्दैछन् । सबैसँग सहकार्यमा जिल्लाको विकास गर्ने र दलहरूबीचको मनमुटावलाई सबै दलले बिर्सनुपर्ने उनको विचार छ । 'सरकार त आउँछन् जान्छन्, हामी प्रभावित हुनुहुँदैन् । कानुनी निकाय र संविधानसभाले कुनै पार्टी वा सरकारको होइन, देश र जनताको हित हुने काम गर्नुपर्छ,' उनी भन्छन् ।


आरोह-अवरोहपूर्ण राजनीतिक जीवनमा उनले निकै कष्ट उठाए । २०३८ सालदेखि क्रमशः ३९, ४५, ६१, सालमा गरी उनी ६ महिना वर्ष दिन बिराउँदै जेल परे । यसरी जिल्लास्तरको राजनीति गरेर पनि केन्द्रीय तहसम्म आवज र अधिकारका निम्ति लागिरहने कुमार राई देशभरि भएको आन्दोलनको भोजपुर अगुवाई गर्ने व्यक्तिका रूपमा पनि परिचित छन् ।


संविधानसभामा उनका आफ्ना केही एजेन्डा छन् । जनजाति र किराँत प्रदेशको बारेमा स्पष्ट कानुन बनाउन आफ्नो धारणा पेस गर्ने उनको विचार छ । उनले भने, 'यसपटकको निर्वाचनमा माओवादीले बाहेक अरू कुनै पार्टीले जनजातिबारे स्पष्ट खाका नकोरेको र नराखेकाले पनि हाम्रो पार्टी हारेको हो । अब यस विषयमा स्पष्ट हुन म पार्टीलाई दबाब दिनेछु ।' 'कानुन पटकपटक कोरिइसकेको छ, महान् वैज्ञानिकहरूबाट अब सर्वसाधारण सबैले बनाउन गइरहेका छौँ,' उनी भन्छन् । मजदुर, महिला, अपांग, सबैका लागि संविधान हुनुपर्ने उनको धारणा छ । दिगो शान्ति र विकास हुने कानुन बन्नेमा उनी विश्वस्त छन् । आफ्नो पार्टीको महाधिवेशनले गणतन्त्रबारे स्पष्ट पारिसकेकाले पहिलो बैठकले गणतन्त्र घोषणा गर्नेमा उनी ढुक्क छन् ।


संविधानसभाको सभासद् भए पनि उनका आफ्ना केही विकास निर्माणका एजेन्डा पनि छन् । 'देशभरि नाम आउने जिल्लामा मोटर-बाटो छैन्,' उनी अलि भावुक भएर भन्छन् । र, थप्छन्, 'यसका लागि सबै एकसाथ जुट्नुपर्छ ।' भोजपुरमा मोटर-बाटो ल्याउने उनको सपना हो । यसका लागि सबै निकायमा धाउने उनको योजना छ । समाजमा हुने अन्तरविरोधको समाधान गर्ने क्षमताको कुरा गर्दै राईले देशमा देखिएको माओवादी र एमालेबीचको चिसोपन पनि समाधान गर्ने क्षमता, दक्षताको कुरा गरे ।
Source : Naya Patrika


हामी धेरै आभारी छौ कैलाश राईज्यु ( काठमाडौं )
"समयले हाम्रो शरीर र ज्ञान दुबै खेर फल्छ तर हामी समयलाई खेर फाल्छौँ " अज्ञात

1 comment:

  1. dherai nai ramro news haru ra sandarbhik chhan ali dherai nai kosis garrnu hola absya ekdin yo site aru bhanda kami hune chhaina

    best of luck dummali team lai

    rakesh gurung taksar, bhojpur
    hall Riyadh KSA

    ReplyDelete