किराँत राईभाषा भाषाहरूको फूलबारी हो । केन्द्रीय तथ्याङ्क विभागले किरात राईहरूको बाहुल्यता देखाएको जिल्लाहरू खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, इलाम, संखुवासभा, भोजपुर, तेह्रथुम, धनकुटा र उदयपुर हो । तर रामेछाप, सिन्धुली, मकवानपुर लगायत अन्य जिल्लाहरुमा पनि राईहरूको घना बस्ती रहेको छ । राईहरूको ६ बर्ष भन्दा माथिको जनसङ्ख्या ६ लाख ३५ हजार १५१ रहेको छ । जुन नेपालको कुल जनसङ्ख्याको २.८ प्रतिशत हुन आउछ । जसमध्ये ६७.२३ प्रतिशत राईहरूले आफ्नो मातृभाषा बोल्नसक्ने तथ्याङ्क छ ।
गत जनगणनाको पछिल्लो तथ्याङ्क २०५८ ले (१) बान्तावा, (२) चाम्लिङ, (३) थुलुङ, (४) कुलुङ, (५) खालिङ, (६) लोहोरुङ, (७) याम्फुले, (८) वाहिङ, (९) उम्बुले, (१०) साम्पाङ, (११) दुमी, (१२) नाछिरिङ, (१३) दुङमाली, (१४) पुमा, (१५) मेवाहाङ, (१६) छिन्ताङ, (१७) जेरुङ, (१८) तिलुङ, (१९) कोयु, (२०) लिङखिम, (२१) छिलिङ र (२२) साम गरी २२ फरक राई मातृभाषाको पहिचान गरेको छ । तर उक्त तथ्याङ्क पूर्ण नभएको विज्ञहरूले बताउदै आएका छन् । राईहरूको मातृसंस्था किरात राई यायोक्खाले अरु धेरै राई मातृभाषा रहेको तथ्य अघि सारेको छ ।
यस अतिरिक्त थप अरु राई भाषाहरू पनि सूचीमा राखिएको छ - (२३) आठपहरिया, (२४) फाङदुवाली, (२५) मुगाली, (२६) लाम्बिछोङ, (२७) चुक्वा, (२८) वालिङ, (२९) बेल्हारे/बेल्हारिया, (३०) लुम्बायाक्खा, (३१) पोङयोङ) र (३२) दक्षिणी लोहोरुङ। (३३) खान्दुङ, (३४) बुङ्लो, (३५) साम्ब्या, (३६) पोङयोङ, (३७) बयवांसी, (३८) चोङ्खा, (३९) लोङ्गावा र (४०) हेदाङपा। (४१) पोल्माछा, (४२) खेसाङ, (४३) लुम्बा, (४४) दिमाली, (४५) पाराली, (४६) धुक्मा (पोहिङ) र (४७) बाहारिया। यसै गरी किरात यायोक्खा (२०६२) ले प्रस्तुत गरेको २६ भाषाको सूचीमा (४८) सोताङे भाषाको शब्दसूची प्रस्तुत गरेको छ।
राईहरूको मातृभाषा बोल्नसक्ने आकडा हेर्दा ३ लाख ७१ हजार ५६ बान्तवाले मातृभाषालाई बोलिचालीको भाषाको रूपमा प्रयोग गर्छन् । जुन कुल राई मातृभाषाहरूको ५८.४२ प्रतिशत हुन आउछ । नेपालका राईहरूमध्ये जनसङ्ख्याको आधारमा दोस्रो स्थानमा चाम्लिङहरू रहेका छन् । सम्पूर्ण राईभाषामध्ये ६.९४ प्रतिशत चाम्लिङ भाषी रहेका छन् । त्यसैगरी सङ्ख्याको आधारमा तेस्रो स्थानमा रहेको कुलुङ भाषीहरूको सङ्ख्या २.९४ प्रतिशत रहेको छ । त्यसैगरी थुलुङ २.२१ प्रतिशत, साम्पाङ १.७० प्रतिशत, खालिङ १.४६ प्रतिशत, दुमी ०.८३ प्रतिशत, वाम्बुले ०.७० प्रतिशत, पुमा ०.६८ प्रतिशत, नाछिरिङ ०.५६ प्रतिशत, वाहिङ ०.४४ प्रतिशत, कोयी ०.४२ प्रतिशत, याम्फु ०.२७ प्रतिशत, छिलिङ ०.२१ प्रतिशत, लोहरूङ ०.१९ प्रतिशत, मेवाहाङ ०.१४ प्रतिशत, तिलुङ ०.०५ प्रतिशत, जेरो ०.०४ प्रतिशत, दुङमाली ०.०३ प्रतिशत, लिङखिम ०.०२ प्रतिशत तथा साम र छिन्ताङको शून्य-शून्य प्रतिशतले मातृभाषा बोल्ने गरेको तथ्याङ्क छ । जनगणना २०५८ ले आठपहरिया, बेलहारे, छुक्वा, लाम्विछोङ, फाङदुवाली, लुम्बायाक्खा, पोल्माचा, वालिङ, मुगाली, बुङलाबा, सोताङ र देवासलाई फरक मातृभाषी राईको रूपमा सूचीकृत गरेको छैन । त्यसैकारण उनीहरूले बोल्ने मातृभाषा पनि सरकारी तथ्याङ्कमा उल्लेख छैन ।
फरक भाषा बोल्ने राईहरूको पुख्र्यौली आवादी र घना बस्ती रहेको खोलाको अधारमा पनि उनीहरूको मातृभाषालाई वर्गीकरण गरिएको छ । जस्तै सुनकोशी राई भाषा समूह अन्तर्गत जेरो, वाम्बुले, तिलुङ, चाम्लिङ र पुमा पर्दछन् । दुधकोशी राईभाषा समूहभित्र खलिङ, थुलुङ, कुलुङ, बाहिङ, नाछिरिङ, सोताङे, कोयी, दुमी र साम्पाङ रहेका छन् । त्यसैगरी अरुणखोले राईभाषा समूहमा बान्तवा, याम्फु, लोहरूङ, मेवाहाङ, बुङलाबा -साम), दुङमाली, पाङतुवाली, मुगाली, छिन्ताङ र छिर्लिङ्गे पर्दछन् । बेलहारे र आठपहरिया राईभाषा तमोरखोले राईभाषा समूहमा रहेका छन् । यसरी किरात राईहरूको भाषा गाउपिच्छे फरक पाईने भएकोले भाषाहरूको फूलबारी भनिएको हो ।















