Thursday, February 28, 2008

चोइटिएको पानाभित्र लुकेको जिन्दगी .......!


रीता पुन मगर "आँशु"
कक्षा-११ रेसुङ्गा बहुमुखी क्याम्पस, तम्घास गुल्मी

अर्को अझ दुःख लाग्दो कुरा त के छ भने उसको क्रिया पनि कोही बसेन। घरमा बसोस् भने त्यागि सकेको माइतमा बसोस् भने विवाह भइसके को यस्तो अवस्थामा बस्नु पर्दैन भनेर कोही बसेन छ।
.

जीवन जीउने क्रममा यहाँ सम्म आइपुगिएछ। कतै आँशु त कतै पीडा, कतै हाँसो त कतै व्यथा आखिर जे-जति पीडा, दुःख परेता पनि आखिर मान्छे ले सहनै पर्दोरहेछ। जस्तो परिस्थिति आए पनि, आफू माथि ठूलो बज्रपात भए पनि त्यसको सामना गर्नै पर्दो रहेछ। अरुको भलो चिताउनेको आफ्नै बेहाल हुँदो रहेछ। अरुको हित चिताउनेको आफ्नै हृदय जल्दो रहेछ। अनि अरुलाई बुझाउनेको झन् आफ्नै मन रुँदोरहेछ।
.

खै ! कसरी लेखुँ ती वेदनाहरू, ती व्यथाहरू फेरि पनि यसरी झेल्नुपर्छ भनेर, आज एउटा घाउ निको नहुँदै फेरि अर्को घाउ बन्न पुग्यो। जुन चोट जसो-तसो बिर्सने कोसिस गर्दै थिएँ, फेरि पुरानो चोट ब्यूँझाइ दियो मातृ वियोगमा परेको यो मनको घाउ निको नहुँदै फेरि दिदीको वियोगमा जलिरहेछ यो मन, बाबु-आमाका ५ जना छोरा छोरी मध्ये मेरी दिदी जेठी थिई। उसको विवाह सानै उमेरमा इच्छा विपरीत ललाइ-फकाई भएको थियो, त्यसबेला ऊ नौ क्लासमा पढ्थी। विवाह भए पनि उनीहरूको राम्रो सम्बन्ध थिएन।
.

विवाह भएको गाउँमा जाँदा त्यहाँका केही आइमाई हरूले फकाएर उसलाई राजी गराएर भित्र्याइ दिएछन्, तर ऊ आफ्नो लोग्नेसँग बोल्न त के नजिक पनि पर्दैनथ्यो। यस्तै क्रममा विवाह भएको एक वर्ष नहुँदै उसको लोग्नेले अर्को बिहे गर्‍यो त्यति बेला ऊ देश क्लासमा पढ्थी, उसको मनमा नराम्रो छाप पर्‍यो अनि अदालतमा मुद्दा दियो र फैसला पनि उसकै पक्षमा सुनुवाई भयो। उसले आफ्नो लोग्नेसँग डिभोर्स गरी माइतमै बस्न थाली र पढ्न थाली।
.

जीवनमा समय भन्दा पहिला र भाग्य भन्दा धेरै कहिल्यै केही पाइन्न रे। उसलाई पनि त्यस्तै भयो, पढ्ने अति चाहना। हुँदा पनि उसलाई भाग्यले कहिल्यै साथ दिएन, जति पल्ट परीक्षा दिए पनि हात लाग्यो शुन्य खै। विवाह पनि असफल भयो र पढाइमा पनि असफलता यसै कारणले होकि उसको बानी पनि परिवर्तन हुँदै गयो झगडा गर्ने, रुने कराउने, कहिले कहि एकदम राम्रो कुरा गर्ने कहिले साह्रै रिसाउने, खाली ठूलो-ठूलो सपना देख्ने, यस्तो हुन्छ, उस्तो हुन्छ तर उसलाई गीत गाउने साह्रै ठूलो सपना थियो र एउटी आदर्शको सिमानामा बाँधिएर बस्ने उसको ठूलो धोको थियो।
.
भगवानले उसको आदर्श र अस्तित्वको त रक्षा गरे तर उसको जीवनको लक्ष्य पूरा हुन दिएनन्। सायद आफ्नो भाग्यमा यति नै मात्र लेखेर आएकी रहिछ क्यार। जीवनमा जति संघर्ष, जति पीडा, त्याग गरेपछि आखिर केही सीप लागेन। जति भाग्यमा लेखेको छ, त्यति मात्रै भोग गर्न पाइन्छ रे। आफ्नो पहिलो विवाह असफल भए पनि पुन र्विवाहमा कहिल्यै राजी भएन। एकैचोटी ठूलो मान्छे बन्ने सपना बाहेक उसको दिमागमा अरु केही थिएन, त्यसैको लागि राजधानीमा संघर्ष गर्दै थिई तर थाहा नपाई उसको शरीरमा रोगले बास जमाएछ, जति जँचाए पनि, जति औषधि खाए पनि सञ्चो भएन झन् रोग बढ्दो रह्यो। वीर हस्पिटलमा ३/४ दिन भर्ना पश्चात् घरमा ल्याइयो। वीर हस्टिपलले ब्लडको मात्रा कम रहेकोले ब्लड हाल्नुपर्ने भनेकाले दुई पाउन्ड ब्लड दिइएको थियो। ब्लड दिएपछि धेरै परिवर्तन भएको रहेछ। सुतेर हिँड्नै नसक्ने मान्छे गौंडाकोट बाट हिँडेर घरमा आइपुगेछ। घरमा आएर यताउती माथि सुकेको, कम्मर देखि तर पुरै फुकेको थियो। तर रोग के हो भनेर हामीलाई केही थाहा भएन।
.

घरमा आएको एक हप्तापछि तम्घास आई। यहाँ आए पछि आयुर्वेद कहाँ देखायौं त्यहाँ ग्याष्ट्रिक भन्यो र १५ सयको औषधि मिसाइ दियो। त्यो औषधिले पनि काम गरेन, त्यस पछि लामा झाँक्रीलाई देखायौं। केही सीप लागेन। त्यो एक्काइसौं शताब्दी आइपुग्दा पनि लामा-झाँक्री देखाउने परम्परा हाम्रो गाउँघरमा हटेको छैन। जहाँ-जता पनि रोग सञ्चो पार्ने भन्दा पैसा असुल्ने मात्रै भयो। तर रोग के हो ? भन्ने पत्ता लागेन। एकपल्ट बुटवल लैजाने कुरो भयो र बुटवल पनि लगें। खत्री मेडिकलमा देखाएँ। त्यहाँ टि.बी.को शंका गर्‍यो र औषधि दियो, औषधि आठ महिना खानुपर्छ तर राम्रो हुँदै गयो भने दुई महिना मात्रै खाए पुग्छ भन्यो। बुटवलमा ७/८ लिटर जति पेटबाट पानी निकाल्यो। त्यसपछि ऊ निकै सञ्चो भए झैं भई तर अफसोच ! घरमा ल्याएको ७/८ दिनपछि फेरि पेट फुल्न थाल्यो। झन्-झन् सिकिस्त हुँदै गयो। तम्घास अस्पतालमा नदेखाएकोले एकचोटी त्यहाँ देखाउन लगें। त्यहाँ १० दिन भर्ना गर्‍यो त्यहाँ पनि तीन चोटी पानी निकालिदियो। खै ! त्यहाँ डाक्टरले पनि आशा मारे जस्तो गरे तैपनि एक चोटी भरतपुर लगेमा रोग पत्ता लाग्थ्यो भने, मैले सक्दो र मेरो भए सम्मको उपचार गरें तर रोग अलिकति पनि सञ्चो भएन आखिर निराश भएर घर पठाइ दिएँ। घरमा उसको उपचारको बारेमा केही कुरा भएन आफ्नो आमा भएको भए त ऊ अकालमा ज्यान गुमाउनु पर्दैन थियो होला। सौतेनी आमा ल्याएको बाबु पनि धेरै परिवर्तन भइसके उनलाई छोराछोरी भन्दा कान्छी स्वास्नी प्यारो भयो। माया/ममता सबैलाई बराबर गर्नुपथ्र्यो तर त्यसो भएन उसको लागि एक पैसा पनि खर्च गरेनन्।
.

अर्को अझ दुःखलाग्दो कुरा त के छ भने उसको क्रिया पनि कोही बसेन। घरमा बसोस् भने त्यागि सकेको माइतमा बसोस् भने विवाह भइसकेको यस्तो अवस्थामा बस्नु पर्दैन भनेर कोही बसेनछ। हाम्रो जस्तो पापी समाज कोही रहेनछ, मेरै छोरी हो यसको क्रिया म बस्छु भनेर बाबु बस्न सक्थ्यो र अर्को कुरा सम्बन्ध विच्छेद भए पनि अर्काको सिन्दुर नपहिरिए पछि हाम्रै हो भनेर घरका पट्टि पनि बस्न सक्थ्यो तर यसो दुवै पक्षबाट भएन। यस्तो सम्म हुँदा केही नभनी बस्ने यो अन्धो, अशिक्षित समाज देखि साह्रै रिस उठ्छ। भन्छन् भाग्यले र कर्मले ठगेको मान्छेलाई जसले पनि हेप्दो रहेछ। आज आएर यो २५/२६ वर्षको यो रहर लाग्दो उमेरमा उसले जस्तो अकालमा ज्यान कसैले नगुमाओस्।
.
आमाको वियोगमा परेको डेढ वर्ष नहुँदै फेरि आमा समानको दिदी गुमाउनु पर्‍यो। भाइ बहिनीलाई त मैले सम्हाल्छु। उनीहरूको मन मैले बुझाइ दिन्छु तर मेरो मन कसले बुझाइ दिन्छ। मैले सानो मन गराए भाइ बहिनीको मन कस्तो होला भनेर सोच्नुपर्ने। जति पीडा भए पनि भाइ बहिनीको अगाडि यी आँशु कहिल्यै खसालिन, जस्तै परे पनि उनीहरू सामु आफू दुःखी बनिन् ताकि मलाई दुःखी देखेर उनीहरू झन् दुःखी बनुन्।
.

जिन्दगीमा हामीलाई जस्तो पीडा, व्यथा, आँशु भगवानले अरुलाई नदिऊन्। हाम्रो त भाग्य फुटेर खुशी लुटियो, आँशुको सागर लाई तहस-नहस पारी परेलीको बाँध बनाउन बाहेक अर्को विकल्प पनि त छैन। फेर यो जीवनमा खुशीको क्षण आउलान् भन्न पनि त अब के बाँकी नै रह्यो र ? तैपनि विस्थापित भइसकेको यो मनलाई आँशुको धाराले धोइ पखाली पुरानो दुःखलाई मलम पट्टि गरी खाटा बस्नेसम्म बनाउने प्रयास गर्ने हो। तर कहिले कहि मन त्यसै-त्यसै बहकिन्छ, हृदयको दुःखी बस्तीमा अनि मनको कमजोर धरातलमा भिषण पहिरो गए जस्तो लाग्छ। अनायासै आँखा रसाउँछन्, तिनै अतीतका अविस्मरणीय कहाली लाग्दा क्षणहरू सम्झिँँदा। शारीरिक दुखाइले भन्दा मानसिक दुःखाइले मान्छे लाई गाल्दो रहेछ। शारीरिक दुःखाई त केही छिनपछि निको हुन्छ तर मानसिक दुःखाइले त जीवनभर पोल्दो रहेछ। मान्छे आफू खुशी बाँच्न त पाउँदैन तर आफू खुशी मर्न पनि त नपाइने रहेछ। अस्तित्व विहीन जिन्दगी अर्थहीन छ, तर पनि बाँच्नैपर्ने रहेछ। हुन त कसैका लागि यही जिन्दगी कति प्यारो छ, तर मलाई त कता-कता बोझ भए जस्तो लाग्छ।
.

थाहा छैन अझ जीवनमा कस्ता परिस्थितिको सामना गर्नुपर्ने हो। आखिर जे-जस्तो परे पनि सहनै पर्ने बाध्यता। आफ्नो मन आफैं दुःखायो अनि आफैं बुझायो के गर्ने ? यो बाहेक अर्को विकल्प पनि त छैन। हामीलाई सम्झाउने, आमाको अभाव मेटाइदिने र आमाको माया दिने बुबा पनि त हाम्रो रहेनन् उनी त अर्कैको भइसकेछन् उनको माया अर्कैतिर सरेछ। हाम्रो मनदेखि उनको मायाले अर्कैमा बसाईं सारेछ। हुन त यो मनको बह कसलाई सुनाएर के हुन्छ र ? भन्छन् मान्छे अर्काको दुःख देखेर खुशी हुन्छ रे। त्यसैले कसैको अगाडि आफ्नो दुःख पोखेर, पीडा देखाएर हाँसोको पात्र बन्न चाहन्न। मनमा पीडा, व्यथा देखाएर भए पनि बाहिर सबैको नजरमा म धेरै खुशी र सुखी देखिन्छु तर थाहा छैन भित्र पीडाले कति जलाइ रहेछ भन्ने। मान्छेले चाहेको चिज पाउने भए र सोचेको कुरा पुग्ने भए सायद समय र परिस्थिति पनि यस्तो हुने थिएन होला। अब हामीले यही सोच्नु पर्छ कि दुःख सुख नै जीवन रहेछ, तर यही जीवनमा पनि आँशुको पछाडि हाँसो र दुःखको पछाडि सुख लुकेको हुन्छ। अनि हाँसेर रुनु भन्दा रोएर हाँस्नुको महत्व बढी हुन्छ रे। यसै कुरालाई आधार मानेर आत्म विश्वासका साथ अघि बढ्दैछु। बाँकी जीवन जसरी जिए पनि ईश्वरको हातमा छ अनि भाग्य लेखिदिने विधाताको हातमा छ, केवल उसैको हातमा...।

0 तपाईंको जिज्ञाश यहाँ:

Comments