Thursday, February 28, 2008

भत्किएको सपना.........!!

(हामी सँग लेखिका बिर्ता "भान्जी" का लेखहरु अरु पनि सुरछित छन, आगामी दिनहरुमा प्रस्तुत गर्नेछौ। दुम्माली ब्लग परिवार -)
दिलबहादुर पनि त्यस्तै सपना देख्छ। उसको सोचाई त्यस्तैमा बितेको छ। बिदेशिनेहरू सबैको राम्रो नै भएको पनि छैन। कतिको त घरखेत नै लिलामी हुने स्थिति पनि आइपरेको छ। कति फसादमा परेका छन्, कतिको बिचल्ली भएको छ।
.
पश्चिममा सूर्यले विश्राम लिन लागेको देखेर दिलबहादुरले हतार-हतार मडुवा खैनी प्याटप्याट पड्काएर तल्लो ओठको गिजामा थपक्क लगायो। मीठो स्वादको अनुभूति गर्दै पिच्च थुक्यो। जोत्ने गोरुको लागि मिठो घाँस लिन बारी पसेको दिलबहादुर साँझपख त्यो गोधुलीको मनोरम फाटमा हजारौं चराहरूको संगीतमय आवाजले त्यसै टोलाएको थियो, आफ्नै दुनियाँमा मुछिएको थियो। लाग्यो- संसारमा अब मै मात्र छु। 'हैन ठूलेका बा भारी पुगेन'- यो आवाजले तार्सिएको दिलबहादुर जुरुक्क उठ्यो- 'के सोच्या हँ, जवानीको ललरी-बिलरी के गर्र्छौ एउटीलाई लगाइ सक्यो तिलहरी, क्या फसाद !' अगाडि उभिएको काँधमा हलो बोकेको कालुराम दाइलाई देखेर एक छिन खिन्न पर्‍यो दिलबहादुर। 'हैन दाइ, म पनि हतार गरेर घाँस लिन आको रात पर्‍यो है आम्मै , बारी सिध्यायौ दाजु ?'
'तिम्रो जस्तो अलिकति मात्रै भए त अस्ति नै सकिने थियो तर धेरै भएकाले सकिएन।'

दिलबहादुर चूप लागि रह्यो। अँध्यारो बढ्दै गएकाले दिलबहादुरले एक डोको घाँस ल्याएर गोठमा खन्यायो। अँगेनीमा छोराछोरी भात पर्खिरहेका रैछन्। 'ए ठूलेका बा आऊ है, भात खाऊ, केटाकेटी मर्न लागिसके !'- स्वास्नी मैनाको स्नेही आवाजले दिलबहादुरले अघि सम्मको सारा दुःख एकैछिन भए पनि भुल्यो।
.
मैना सानो छोरालाई दूध चुसाउँदै अरु छोरा छोरीलाई खाना पस्किएर दिँदै थिई।
'लेऊ, नानी म बोक्छु'- दिलबहादुरले सानी नानीलाई आफूतिर तान्यो। सबै जनाले सँगै बसेर खाना खाए। थोरै जमीन, वर्ष भरि उब्जेको अन्नले नपुग्ने। त्यस माथि बढ्दो उमेरका सन्तान थिए।
दिलबहादुरले बिदेश गएर केही कमाउने सोच बनायो। मैनासँग सल्लाह गर्‍यो। 'अब यहाँ न नोकरी छ, न आम्दानी, जाबो यो खेतबाट उब्जेकोले कति पुग्छ र ? फेरि दिनका दिन छोरा छोरी बढ्दा छन्, यो जमाना अर्कै छ, तिमीलाई थाहै छ, बरु बिदेश तीन वर्ष बसियो भने टन्न कमाइ हालिन्छ।' दिलबहादुर यस्तै भन्दै थियो। मैनाले एक झमक लोग्नेलाई हेरेर अन्तै टोलाई, उसको अनुहारमा कता कता बादल मडारिएको जस्तो देखियो। मैनाले सम्झाउने प्रयास गरी। तर, गरिबीको पीडाले उसलाई केही बोल्न आएन। छिमेकीहरू बिदेश बसेर आएका, उनीहरूका छोराछोरी राम्रा स्कूलमा पढ्छन्, ठाँटिएर हिँड्छन्। छिमेकी सबै खाडी राष्ट्रहरूमा पुगेका छन्। माहिना पिच्छे पैसा पठाएका छन्। जीवन राम्रैसँग चलेको छ।
.
'जान पनि त सजिलो छैन, त्यत्तिका पैसा कहाँबाट ल्याउने ? तिमी गएपछि मैले छोरा छोरीलाई कसरी हुर्काउने ? भो पर्दैन यहीं बसेर दुःख गरौंला'- मैनाले दुःखेसो पोखीन । लोग्नेले सम्झाए पछि मैना केही आश्वस्त भई।
गाउँका युवाहरू अचेल सबै बिदेशिन्छन्। बिदेश जानेहरूको लास्कर देखिन्छ। बिदेश जाने, टन्न कमाउने, मज्जाले जीवन बिताउने सपना गाउँभरि पुगेको छ। गाउँ-टोलमा केटी जिस्क्याएर हिँड्ने युवाहरूको बिदेश गएर आएपछि फूर्ति नै फरक भएको छ। पानी-पँधेरी, बजार, गल्लीका बटुवाहरू, चोक-चोकमा भेला भएकाहरूको गफको विषय नै बैदेशिक रोजगार बनेको छ। बिदेश जाने र पैसा कमाउने सबैको ध्येय छ।
.
दिलबहादुर पनि त्यस्तै सपना देख्छ। उसको सोचाई त्यस्तैमा बितेको छ। बिदेशिनेहरू सबैको राम्रो नै भएको पनि छैन। कतिको त घरखेत नै लिलामी हुने स्थिति पनि आइपरेको छ। कति फसादमा परेका छन्, कतिको बिचल्ली भएको छ। दिलबहादुर त्यो पनि सम्झन्छ। अनि झस्कन्छ।
दिन बित्दै गयो, बिदेश जाने दिन पनि आयो। भएभरको जग्गा साहुकोमा राखेर ऋण लिई उसले बिदेश जाने व्यवस्था मिलायो। मैना पनि गाउँका आफ्नाभन्दा बढी सन्तान भएका परिवारलाई हेरेर चित्त बुझाउँदै थिई। दिलबहादुर बिदेश जाने कुरा गाउँभरि फैलिइसकेको थियो। दिलबहादुरको टिकटको पनि किटान भयो। घरबाट हिँड्ने दिन मैनालाई राम्ररी सम्झाएर छोराछोरीलाई माया गरी आफ्नो बाटो लाग्यो। भन्ञ्जाङ्गसम्म मैनाले पुर्‍याई, टाढा देखुञ्जेलसम्म हेरिरही। दिलबहादुर ओझेल परेपछि मैना भक्कानिएर रुन थाली।
.
मैनाले छिमेकीका एक्ला श्रीमतीहरू लाई हेरेर मन बुझाई। दिलबहादुरले पुग्नेबित्तिकै फोन गर्‍यो। मन ढुक्क गरी बस्न आग्रह गर्‍यो। समयको प्रवाह सँगै मान्छे बाँच्नुपर्ने जिन्दगी हो यो। एक वर्ष बित्न लाग्यो, घरमा जग्गा फिर्तीपास को ब्याज मात्र बुझाइएको थियो। पैसा त्यति राम्रो पठाउन सकेको थिएन दिलबहादुरले। चर्को घाममा दैनिक १२ घण्टा काम मा खटिँदा दिलबहादुर सुकेर सिन्को भइसकेको थियो। घरमा मैनालाई साहुले धम्क्याउन थालिसकेको थियो। गाउँ-घरमा पनि उसलाई होच्याउन थालेका थिए। जाबो ८० हजार रुपैयाँ पनि एक वर्ष सम्म तिर्न नसक्ने भन्दै सबैले भन्न थाले। 'उता दिनरात तास खेल्दा हुन्, कामको पैसाले अर्की डुलाउन थालेका छन् कि ! टोल-टोलमा होटल-रेष्टुरेन्ट हुन्छन्, त्यतै हल्लिन थालेका होलान् अनि के पैसा पठाउँथे ? कति भयो तेरो बूढोले फोन नगरेको ?' यस्तै-यस्तै भनेर मैना लाई तनाव थप्न थाले।
.
केही समय पछि मैनाले एउटा पत्र पाई। धेरै समयपछि पत्र पाएकाले मैनाको खुशीको सीमा रहेन। उसले हतार-हतार चिठी खोलेर हेरी। चिठी हेरेपछि मैना छक्क परी। पत्रमा दिलबहादुरले अब काम गर्न नसक्ने भएको, नेपाल फर्कन्ने पैसा पनि नभएको कुरा लेखेको थियो। मैनाले आकाश माथि आकाश थोपरिए जस्तो अनुभव गरी। पीरै पीरले मैना पनि निकै सुकि सकेकी थिई।
.
उता, दिलबहादुर जबर्जस्ती एयरपोर्टमा आइपुगेको मात्र थियो, एउटा छिमेकीले प्याच्च भन्यो- ए दिलो, आइपुगिस् ? ल चाँडो घर पुगिहाल्। अस्तिका दिन मात्र हामीले मैनालाई जंगल पुर्‍याएका छौं, छोराछोरीको बिचल्ली भएको छ। छिमेकीको कुराले दिलबहादुर आफैं ढलेको पनि पत्तो पाएन। जब होसमा आयो, ऊ अस्पतालको बेडमा थियो। डाक्टरले अब चिन्ताजनक नभएको बताइ रहेका थिए। तर, उसको आँखाभरि घर, मैना र कलिला अबोध छोराछोरीहरूको चित्र घुमिरहेको थियो।
लेखिका:
बिर्ता भान्जी , याङ्शिला- ५, सतिसाले, मोरङ्ग

3 comments:

  1. राम्रो कथा! समसामयिक नेपाली ग्रामीण जीबनका पिडाहरुलाई उधिन्ने कोशिश गरिएको छ। तर कथाको अन्त्य अलि अष्पष्ट र हतारमा सकिएको जस्तो लाग्छ। आशा छ, लेखिकाज्यूले प्रकाश पारिदिनुहुनेछ।

    ReplyDelete
  2. katha sarai Ramro lekhnu bhaye chha, ra ajhai k napugeko jasto lagyo, yeslai RA mri sudhar Gardei gaye in future, Bestofluck,

    ReplyDelete
  3. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठी

    ReplyDelete